सर्वोच्च अदालतले अवहेलना मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताले सार्वजनिक रूपमा गरेका भाषणहरूको क्लिपसहितका विवरण पेस गर्न आदेश दिएको छ।
सर्वोच्चका न्यायाधीशद्धय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार निवेदकलाई भाषणसहितका सम्पूर्ण कागजातहरू पेस गर्न भनेको छ । अधिवक्ता अनुपम भट्टराईले अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए।
‘निवेदकको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताद्वय अनुपम भट्टराई तथा उपेन्द्र रावतले गर्नुभएको बहस सुनियो,’ अदालतको आदेशमा उल्लेख छ, ‘निवेदकले निवेदनसाथ पेस गरेको कागजातको पूर्णपाठ तथा भिडियो क्लिप तथा सो भिडियोलाई लिपिबद्ध गरी निवेदकबाट यथाशीघ्र पेस गर्न लगाई नियमानुसार पेस गर्नु।’
सर्वोच्चले भिडियोमा भनिएका कुरा उतार गरेर समेत पेस गर्न आदेशमा भनेको छ। सहकारी ठगी प्रकरणमा अदालतको अनुमतिले थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेको थुनामुक्तिका लागि रास्वपाले गरेको आन्दोलनका क्रममा न्यायलयको जनआस्थामा असर पर्ने गतिविधी गरेको दाबीसहित अवहेलना मुद्दा दर्ता भएको थियो।
अधिवक्ता भट्टराईले अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजिएको दाबी अवहेलना मुद्दामा गरेका छन्।
स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, विराजभक्त मर्हजन, तोसिमा कार्की, असिम शाह, गणेश पराजुली, सोविता गौतमलगायत नेतालाई विपक्षी बनाउँदै अवहेलना मुद्दा दर्ता गरिएको थियो।