काठमाडौं, भदौ १ : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे बाढीमा परेकाहरूको उद्धार र राहतमा कमी हुन नदिन सरकारसँग आग्रह गरेका छन्।

अध्यक्ष दाहालले आज अपराह्न सामाजिक सञ्जालमार्फत सो क्षेत्रमा हिमताल फुटेर बाढीले ठूलो धनजनको क्षति भएको र तटीय क्षेत्रमा मानवीय जोखिम उत्पन्न गराएको बताएका हुन्।

‘नेपाल सरकारलाई उद्धार र राहतमा कमी हुन नदिन आग्रह गर्दै विश्व समुदायलाई जलवायु जोखिमबाट नेपाललाई सुरक्षित गर्न अन्तर्राष्ट्रिय सहयोगको दायरा गुणात्मक रूपले बढाउन पुनः अपिल गर्दछु,’ उनले भनेका छन्।

उनले जलवायु परिवर्तनको नकारात्मक असरले गर्दा पर्वतीय देशहरूको मानवीय जीवन बहुआयामिक जोखिममा पर्दै गएको जानकारी गराउँदै हिमाल पग्लिने क्रम जारी रहेकामा चिन्ता प्रकट गरेका छ्न्। उनले नेपालजस्ता देशहरूले आफूले नगरेको गल्तीको सजाय भोगिरहेको पनि बताएका छन्।

‘हिमाल पग्लिने क्रम जारी छ, हिमताल फुटिरहेका छन्। बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपले तटीय क्षेत्रमा जनधनको ठूलो क्षति भइरहेको छ,’ अध्यक्ष दाहालले भनेका छ्न्, ‘मैले संयुक्त राष्ट्रसङ्घको महासभादेखि कोप–२८ सम्म जलवायु न्यायको कुरा गरेको थिएँ। नेपालजस्ता देशहरूले हामीले नगरेको गल्तीको सजाय भोगिरहेका छौं।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय