उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन्।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसङ्घको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा यही मङ्सिर १७ र १८ गते भएको दुईदिने २९औँ साझेदारी शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ उनी प्रस्थान गरेका थिए।
त्यहाँ रहँदा मन्त्री भण्डारीले भारतीय जनता पार्टी(भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइ, भारतीय विदेशमन्त्री डा एस जयशङ्कर, समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल, पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरी, उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमन्त्री प्रल्हाद जोशी, भारतीय उद्योग परिसङ्घका पदाधिकारीलगायतसित भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ।
चौथाइसँगको भेटका क्रममा उनले दुई देशबीचको सौहाद्र सम्बन्धका विषयमा कुराकानी गरेको जनाइएको छ ।
भारतीय विदेशमन्त्रीसँगको भेटमा उनले बैतडीको झुलाघाटस्थित महाकाली नदीमा मोटरेबल पुल निर्माणका सम्बन्धमा तथा सीमामा नेपालीले झेल्नुपरेका समस्या समाधानमा सहजीकरणका विषयमा कुराकानी भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ।







