द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ। लामो सयमदेखि आन्द्रामा देखिएको संक्रमणको उपचार गराइरहेकी श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहान करिब ८ बजे निधन भएको हो।
श्रेष्ठलाई पेटको आन्द्रामा गम्भीर प्रकारको संक्रमण देखिएको थियो। मेडिसिटी अस्पतालमा नै उनको लामो समयदेखि त्यसको उपचार पनि भइरहेको थियो।
नेपाल मेडिसिटी अस्पतालले औपचारिक रूपमा बिहीबार बिहान उनको निधन भएको जानकारी दिएको थियो।
पटना विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातक उत्तीर्ण अम्बिकाले सप्तरीमा बडाहाकिम रहेका आफ्ना पति बिरामी भएपछि तीन वर्षमै उनले अमेरिकन लाइब्रेरीको आकर्षक जागिर छाडेकी थिइन्।
घरबाहिर निस्कने पहिलो पुस्ताकी महिलामा पर्छिन् अम्बिका। पतिपत्नी मिलेर उनीहरूले मुलुककै दोस्रो ट्राभल एजेन्सी काठमाडौँ ट्राभल एन्ड टुर्स खोलेका थिए। उनीहरूले नै खोलेको न्युरोडको पारस होटल नेताहरूको जक्सनसमेत थियो, कुनै बेला।
अहिले उनकी ठूली छोरी संगीताले द्वारकिाज होटलको नेतृत्व गरेकी छन् भने कान्छी छोरी विनीता सपरविार अमेरिकामा बस्दै आएकी छिन्। उनका छोराको भने १८ वर्षेको उमेरमा मोटरसाइकल दुर्घटनामा निधन भएको थियो।
काठमाडौं उपत्यकाको आर्किटेक्चरलाई पुनर्जागृत गर्दै द्वारिकाज होटलको परिकल्पना गरेका द्वारिकादास श्रेष्ठको सन् १९९२ फेब्रुअरी १० मा निधन भएको थियो । द्वारिकाज होटल सन् १९७७ मा दर्ता भएको हो।







