काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले होस्टेल सञ्चालकहरुलाई स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाको पूर्ण परिपालना गरेर होस्टेल सञ्चालन गर्न अनुरोध गरेको छ ।

समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले, छात्राबासमा अवाञ्छित क्रियाकलाप हुने गरेको भन्ने गुनासो संवेदनशील रहेको विषयमा छलफल गर्दै मापदण्ड पालनामा प्रतिवद्ध हुन आग्रह गरेको हो ।

त्यसक्रममा उपप्रमुख डंगोलले भनिन्, ‘होस्टेलको अवस्था, सेवा सम्बन्धी व्यवस्थासँगै होस्टेलमा बस्ने छात्राछात्र तथा अन्य को होस्टेलमा बसेको हो, व्यवस्थित सूचना अभिलेखनबाट व्यवस्थापनको काम थालनी हुनेछ।’

समूह विभाजन गरेर अनुगमन गर्न सकिन्छ। उनले होस्टेल संघको तथ्याङ्क उधृत गर्दै भनिन् ‘उहाँहरु ४० हजार विद्यार्थी होस्टेलमा बसेको भनिरहनु भएको छ । यत्रो ठूलो संख्यामा मानिस बसोबास गर्ने ठाउँको अवस्था र वितरण हुने सुविधाको निगरानी अनिवार्य भएको छ।’

चार जना बस्न मिल्ने कोठामा २०औँ जनालाई राखिएको छ। आवासीय भवनलाई व्यावसायिक बनाइएको छ। यसले जोखिम सिर्जना गरेको छ। छलफलमा वडा नं. १० का सदस्य सतिश तण्डुकारले भने, ‘रातको १० बजेपछि पनि होस्टलमा आवागमन भइरहन्छ । त्यसपछि को आउँछ, को जान्छ? किन आउँछ, किन जान्छ? थाहा हुँदैन।’

छलफलमा वडा नं. २९ का सदस्य अनिल श्रेष्ठले भने, ‘होस्टेल विक्री गर्ने रोग थियो, यो महारोग भइसक्यो। घर लिने, निःशुल्क विद्यार्थी भर्ना गर्ने, त्यही संख्या देखाएर महङ्गोमा विक्री गर्ने भएपछि विकृति भयो।’

शिक्षा अधिकारी गोविन्दप्रसाद शर्मा, विद्यार्थीहरुको हित जान्नका लागि भए पनि अनुगमन गर्नुपर्ने अवस्था आएको बताउँछन्। यस्तै राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्ले, छलफलमा नेपाल होस्टल एशोसिएसन र होस्टल व्यावसायी संघ नेपालका पदाधिकारीले, बहाल कर आफैँले तिर्नुपर्ने, घरको मर्मत सम्भार आफैँले गर्नु पर्ने, पानी आफैँले जोहो गर्नु पर्ने भएकोले आफूहरु व्यावसायिक संकटमा रहेको धारणा राखे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय