रुकुम पश्चिम आठबिसकोट नगरपालिका सिमबजारदेखि चिसापानीसम्मको सडक निर्माण सम्पन्न भएको एक वर्ष नबित्दै भत्किएको छ। करिब एक वर्षअघि निर्माण सम्पन्न भएको उक्त सडक अहिले पहिलाभन्दा झन् दुर्गम र जोखिमपूर्ण बनेको स्थानीयवासीहरूले गुनासो गरेका छन्।
सडकको कमजोर गुणस्तर, प्राविधिक अनुगमनको अभाव र ठेकेदार–इन्जिनियरबीचको मिलेमतोका कारण यस्तो अवस्था आएको भन्दै सर्वसाधारण आक्रोशित बनेका छन्।
“करोडौंको लगानीमा बनेको सडक वर्ष दिनमै भत्किनु दुरुपयोग र लापरबाहीको उदाहरण हो। यसमा नगरपालिका, इन्जिनियरदेखि मेयर–उपमेयरसम्म सबै जिम्मेवार छन्,” एक स्थानीयले प्रतिक्रिया दिएका छन्।
अहिले सडक खाल्डाखुल्डीले भरिएको छ, कतिपय ठाउँमा आवतजावत नै अवरुद्ध भएको छ। यसले सर्वसाधारणलाई दैनिक जीवनमा ठूलो समस्या थपिदिएको छ।
स्थानीयवासीहरूले तत्काल सडक मर्मत–सम्भार गरी जिम्मेवारहरूमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।







