नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले १० वर्षमा संविधानमा पुनरावलोकन वा परिमार्जन गर्नुपर्ने संवैधानिक वाध्यता रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको ‘संविधान संशोधन र प्रेस तथा अभिव्यक्ति’ विषयक विचार गोष्ठीमा उनले पुनरावलोकन संविधानमै भएको व्यवस्था भएकाले कांग्रेस–एमालेले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए । साथै सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको कुरालाई ध्यान दिनुपर्ने बताए।
‘ठूला दल एक ठाउँमा उभिंदा कतै निरङकुशता उब्जन्छ कि भन्न डर कायम छ । यसमा मिडियाले निरन्तर खवरदारी गर्नुपर्छ । सत्ता पक्षमा हुँदैमा गलतलाई सत्य भन्न सकिदैन् । संसदबाट सहीलाई सही र गलतलाई गलत हो भनेर कांग्रेस आवाज उठाउँछ,’ उनले भने।
डा.कोइरालाले संविधान संशोधन गर्दा समावेशितालाई अझ बलियो बनाउनेगरी जानुपर्ने र निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने औंल्याए । संविधान संशोधन गर्ने नाममा ‘पेन्डोरा बक्स’ त खुल्ने होइन भन्ने डर भएकाले यसमा सचेत रहनुपर्ने सुझाए।
मन्त्रीहरु खादा मालामा व्यस्त भएको उल्लेख गर्दै डा. कोइरालाले सरकारलाई गल्ती गर्ने र कुनै कमी कमजोरी गर्ने छुट नभएको बताए । नागरिकमा निराशा चिर्न र राष्ट्रलाई प्राथमिकतामा राखेर आशा जगाउनेगरी काम गर्ने बताए।
उनले प्रेस स्वतन्त्रताले पनि राजनीतिक क्षेत्रमा ठुलो परिवर्तन आउने बताए। यस्तै उनले कांग्रेस र एमालेको सहकार्यमा बनेको सरकारले संविधान संशोधन गर्दा सबै राजनीतिक दलसँगै मिलेर अगाडि बढ्न आग्रह गरे । उनले सबै मिलेर गए मात्रै राजनीतिक स्थायित्व,आर्थिक विकास, सुशासन,भ्रष्टाचार मुक्त समाज बन्ने विश्वास व्यक्त गरे।
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले वर्तमान सरकारले प्रेस सम्बन्धी कानुन निर्माण गर्दा संवैधानिक व्यवस्थालाई ख्याल गर्न आग्रह गरे।
कार्यक्रममा बरिष्ठ पत्रकार हरिहर विरहीले अघिल्लो सरकारले प्रेस कानुन ल्याउने नाममा प्रेसलाई खुम्च्याउने प्रयास गरेकाले बर्तमान सरकारबाट प्रेस स्वतन्त्रता सुरक्षित रहने विश्वास व्यक्त गरे।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले संविधान संशोधन गर्दा प्रेसका प्रशस्त विषयहरु सुधार गर्नुपर्ने औंल्याए।
युनियनका अध्यक्ष शिव लम्सालले जुनसुकै सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता निमोठ्न खोजे जुनसुकैबेला सडकबाट प्रतिकार गर्ने दृढता व्यक्त गरे।
उनले पत्रकार महासंघलाई वास्तविक पत्रकारको संस्था बनाउन, सबै विचार र आस्था बोकेका कलमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्बाध उपयोग गर्न पाउने वातावरण निर्माणका लागि युनियन सँधै क्रियाशील रहने बताए।