रुकुम पश्चिममा श्रम सहकारी, स्यार्पु पावर कम्पनी र दुग्ध सहकारीसँग सम्बन्धित करोडौंको घोटालाबारे गम्भीर प्रश्न उठाइएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक विवरणमा रूकुम उज्यालो कार्यक्रम, सहकारी सञ्चालन र ठेक्का प्रक्रियामा अनियमितता भएको दाबी गरिएको छ।

आरोपमा भनिएअनुसार, कास्की पोखराका हरिवाबु पन्थको एचए कन्स्ट्रक्सनमार्फत रुकुममा सडक निर्माण गर्ने नाममा गोरखबहादुर केसी सन्देशलाई करोडौंको मालिक बनाइएका थिए। सन्देशलाई ए–क्लास ठेकेदारको दर्जासँगै माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत जनार्दन शर्माले नै बनाएको दाबी गरिएको छ। त्यस्तै, स्यार्पु हाइड्रो र नागरिक दुग्ध सहकारीका वास्तविक मालिक पूर्व अर्थमन्त्री जनार्दन शर्मा र उनका भाइ, तत्कालीन मुख्यमन्त्री समेत रहिसकेका राजकुमार शर्मा रहेको बताइएको छ।

यसबाहेक, अर्थमन्त्री भएको समयमा राष्ट्रिय वाणिज्य बैंक रुकुम पश्चिम शाखाबाट करिब ६० करोड रुपैयाँ ब्याज नतिर्ने गरी उपलब्ध गराइएको भन्दै गम्भीर प्रश्नसमेत उठाइएका छन्। आरोप लगाउने पक्षले यसलाई राजनीतिक प्रभाव प्रयोग गरी गरिएको राज्यदोहनको उदाहरणका रूपमा व्याख्या गरेका छन्।

तर यी सबै आरोपलाई पूर्णतः अस्वीकार गरिएको छ। सार्वजनिक खण्डन वक्तव्यमा श्रम सहकारीमा ‘करोडौं होइन, प्रतिकात्मक रूपमा रु. १ भ्रष्टाचार’ भएको भनेर हल्ला फैलाइएको दाबी तथ्यविहीन भएको स्पष्ट गरिएको छ। त्यस्तै, स्यार्पु पावर कम्पनी नेपालकै पहिलो स्थानीय तहको सरकारी कम्पनी भएकाले रुकुमका ६ स्थानीय तह बाहेक अरु कसैको स्वामित्व नभएको बताइएको छ। राष्ट्रिय वाणिज्य बैंकले ६० करोड रुपैयाँ विना ब्याज ऋण दिएको भनाइलाई पनि खण्डन गर्दै “वैशाख नपाएको तोरी” जस्तो असम्भव कुरा भएको उल्लेख गरिएको छ।

खण्डनमा भनिएको छ, कुनै पनि कम्पनी ए–क्लासमा पुग्न वा पुल, सडक र भवन जस्ता पूर्वाधार बनाउन ‘कसैको कृपामात्रै’ पर्याप्त नहुने, मेहनत र प्राविधिक दक्षता अपरिहार्य हुने कुरा समेत स्पष्ट गरिएको छ। यससँगै २०७९ सालको निर्वाचन परिणामलाई उदाहरण दिँदै माओवादीले रुकुममा एमाले र कांग्रेस मिल्दा प्राप्त हुने मत भन्दा दोब्बर मत पाएको स्मरण गराउँदै, ‘फत्तुर’ले जनमत बदल्न नसक्ने जिकिर गरिएको छ।

उक्त विवादमा संलग्न भएको आरोप लगाइएका मध्ये गोरखबहादुर केसी सन्देश रुकुम पश्चिम, आठबीसकोट नगरपालिका निवासी हुन्। उनी सो नगरपालिकाका पूर्व मेयरसमेत रहिसकेका छन्। आरोप लगाउने पक्षले उनलाई माओवादी नेताको राजनीतिक कृपाले मात्रै ठेकेदार र दलको पदाधिकारी बनाउन भूमिका खेलिएको आरोप लगाएका छन्।

रुकुममा माओवादी नेता जनार्दन शर्मा र उनको परिवारसँग जोडिएका सहकारी तथा कम्पनीबारे लगातार प्रश्न उठाइरहँदा, उनीहरूको पक्षबाट भने यसलाई राजनीतिक बदनाम गर्ने प्रयास भन्दै अस्वीकार गरिएको छ। यस विषयमा अझै थप प्रमाण र स्पष्टिकरणको प्रतीक्षा भए पनि दुवै पक्षका आरोप–प्रत्यारोपले रुकुमको राजनीतिक वातावरण तातिएको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय