आठबिसकोट, रुकुम पश्चिम | गोपाल बताला
बिजुलीका पोल वर्षौं अघि नै ल्याइए पनि आठबिसकोट नगरपालिका–१० को मैडाडा गाउँमा आजसम्म बत्ती बल्न सकेको छैन। वरपरका गाउँहरू उज्यालोमा रमाइरहेका बेला यो गाउँ अझै टुकी र मट्टीतेलमै सीमित छ।

राजनीतिक रूपमा एमाले निकट भनेर चिनिने यो गाउँमा स्थानीय सरकार माओवादी केन्द्रको नेतृत्वमा छ भने संघीय सरकारमा एमाले। तर दुबैतर्फबाट यहाँको विकास र पूर्वाधारप्रति अपेक्षित ध्यान नदिइएको स्थानीयहरूको गुनासो छ।

“पोल त ल्याइयो, तस्वीर खिचियो, योजना सुरु भयो भनियो, तर वर्षौं बित्दा पनि उज्यालो देख्न पाएनौं,” एक स्थानीय बासिन्दाले भने।

स्थानीयहरू भन्छन् — माओवादी नेतृत्वको वडा कार्यालयले यो क्षेत्रलाई प्राथमिकतामा राखेन, र केन्द्रमा बसेको एमाले सरकारले पनि वास्ता गरेन। “हामीले एमालेलाई साथ दियौं, तर उनीहरूले पनि नजरअन्दाज गरे,” एक शिक्षकको भनाइ छ।

चुनाव नजिकिँदै गर्दा नेताहरू फेरि गाउँ पस्न थालेका छन्। तर अब जनतामा अविश्वास बढेको छ। “पाँच वर्षअघि पनि यस्तै वाचा गरे, अहिले त अझै पोलमै बिजुली झुण्डिएको छ,” स्थानीय युवा भन्छन्।

अहिले गाउँमा सबैभन्दा बढी उठ्ने आवाज हो —
“हामीलाई अब भाषण र वाचा होइन, काम र बत्ती चाहिन्छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय