रुकुम पश्चिम, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मुसिकोट नगरसमितिले अन्तरिक पार्टी रूपान्तरण र एकताका लागि नेतृत्वमा ठूला परिवर्तन आवश्यक रहेको निष्कर्ष निकाल्दै एक विज्ञप्ति जारी गरेको छ।

नगर अध्यक्ष दलबहादुर खड्काद्वारा जारी उक्त विज्ञप्तिमा, १० वर्षदेखि उही समूहले पार्टी सञ्चालन गर्दा संगठन कमजोर बन्दै गएको, भ्रष्टाचार बढेकाले आम कार्यकर्ता निराश भएको र पार्टीको मूल माओवादीत्वको धार नै धमिलो बन्दै गएको आरोप लगाइएको छ।

विज्ञप्तिमा पार्टीभित्र देखिएका समूहबन्दी, अस्वस्थ प्रतिद्वन्दिता, अनुशासनहीनता, नेताहरूको व्यक्तिगत स्वार्थ तथा जनविरोधी गतिविधिले संगठन कमजोर परेको उल्लेख छ।

समितिले केन्द्रबाट आएका निर्देशनअनुसार एकीकृत प्रक्रिया अघि नबढाई “नाटकीय एकता” को नाममा फेरि उही पुरानै प्रवृत्तिलाई प्राथमिकता दिन खोजिएको भन्दै कडा आपत्ति पनि जनाएको छ।

विज्ञप्तिमा भनिएको छ।
•युवा पुस्ताको अपेक्षा पूरा गर्न पार्टीमा नयाँ नेतृत्व आवश्यक छ।
•भ्रष्टाचार, अवसरवाद र व्यक्तिगत स्वार्थले पार्टीको मूल लक्ष्य कमजोर बनाइरहेको छ।
•पार्टीभित्रको सुदृढ एकताका लागि जनभावनालाई प्राथमिकता दिनुपर्छ।

नगरसमितिले प्रगतिशील राष्ट्रिय अभियानलाई प्रभावकारी बनाउन पार्टीभित्रको गुटबन्दी अन्त्य गरी स्पष्ट दिशानिर्देशनसहित अघि बढ्न शीर्ष नेतृत्वलाई आग्रह गरेको छ। नाटकिय एकतामा सहभागी नहुन” सबै कार्यकर्तालाई अपिल गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय