जाजरकोट । नलगाड नगरपालिका १२ का हेमन्त बस्नेतको उपचारका लागि करिब ६ लाख सहयोग रकम संकलन गरेका छन । स्थानीय युवा प्रेम केसीको पहलमा बस्नेतको उपचारका लागि उक्त सहयोग रकम संकलन भएको हो ।
मुटु, फोक्सो र मृगौलमा समस्या भई आर्थिक अभावमा उपचार गर्न नपाएका बस्नेतको उपचारका लागि सामाजिक संजाल लगायतको माध्यमबाट सहयोग रकम संकलन गरिएको सहयोगी युवा प्रेम केसीले बताए । आफुहरुले संचालन गरेको ‘हेमन्त बस्नेत बचाउ अभियान’मा जोडिएर स्थानीयसहित देशका विभिन्न ठाउँबाट सहयोग प्राप्त भएको केसी भनाई छ ।
बिरामी भएर थला परेका बस्नेतको आर्थिक अभावका कारण उपचारमा समस्या भएको थियो । उपचार पछि स्वास्थ्यमा सुधार आएर नेपालगञ्जस्थित आफन्तको घरमा आराम गरिरहेका बस्नेतले भने, ‘प्रेम केसी पहल र नवराज सिंहको समन्वयमा पैसा जुट्यो । त्यहि पैसाले उपचार गरेर मैले नयाँ जीवन पाए ।’ सुरुमा नेपालगञ्ज स्थित मेडिकल क्लेजमा उपचार गराएपनि त्यहाँ सम्भव नभएकोले बस्नेतलाई भारतको लखनउमा उपचार गराइएको हो । उपचारका लागि ९ लाख ६० हजार भन्दा बढि खर्च भएकोमा ५ लाख ९२ हजमर ४५६ रुपैयाँ सहयोग प्राप्त भएको र बाँकी ऋण सापत गरेको बस्नेतको भनाई छ ।
राष्ट्रिय युवा संघ नेपाल, जाजरकोटका सचिव समेत रहेका केसी विभिन्न सामाजिक कार्यमा सक्रिय छन । केसीले विरामी लगायत विभिन्न समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन ।(karnaliaawaj.com)