भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ। अदालतको आदेशपछि धरौटी बुझाएर उनी आइतबार नै रिहा भएका छन्।
अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको आइतबारको इजलासले बयानपछि अर्यालसँग ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
अर्यालमाथि सुरक्षण मुद्रण केन्द्रबाट नीजि क्षेत्रलाई अन्तशुल्क स्टिकर छाप्न ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो। भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरिएको छ।
यस्तै, सोही मुद्दामा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसँग विशेष अदालतले एक लाख रुपैयाँ धरौटीमा मागेको छ।







