रूकुम — लगातारको वर्षाका कारण ठूलीभेरी नदीमा पानीको प्रवाह उच्च हुँदै गएका कारण नदी किनारका बस्तीहरूमा बाढीको जोखिम बढेको छ। करवगाडदेखि रिम्नासम्मका बासिन्दालाई सतर्क रहन सम्बन्धित निकायले आग्रह गरेका छन्।
स्थानीय प्रशासनले नदी किनारमा जान, खोलानाला तर्न वा बाढीले बगाएर ल्याएका काठ–दाउरा टिप्न नजान अनुरोध गरेको छ। यस्तो प्रयास ज्यान जोखिममा पार्न सक्ने भएकाले वर्खायामभरि उच्च सावधानी अपनाउन अपील गरिएको हो।
सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिहरूले संभावित जोखिमको अवस्था देखाउँदै नागरिकलाई निम्न कुरामा ध्यान दिन आग्रह गरेका छन्:
•सकेसम्म नदी किनार र खोलानालाबाट टाढा रहनुहोस्।
•बाढीले ल्याएका काठ–दाउरा टिप्न नजानुहोस्।
•आपतकालीन अवस्थामा नेपाल प्रहरी, नगर प्रहरी वा वडाका जनप्रतिनिधिसँग तत्काल सम्पर्क गर्नुहोस्।
•मौसम पूर्वानुमान र स्थानीय समाचार हेरेर मात्रै यात्रा योजना बनाउनुहोस्।
वर्खायामको यो संवेदनशील समयमा ज्यान र सम्पत्ति सुरक्षित राख्न सबैलाई जिम्मेवार र सतर्क बन्नु आवश्यक छ।







