रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नेकपा (माओवादी केन्द्र) दुई भागमा विभाजित भएपछि नेपाली कम्युनिस्ट पार्टी र समृद्ध नेपाल पार्टीबीच प्रचार–प्रसार तीव्र बन्दै गएको छ। दुवै पक्षले एक–अर्कामाथि दोषारोप र आलोचना गर्दै राजनीतिक वातावरण झन् तातेको देखिन्छ।
यसैबीच, नेपाली कम्युनिस्ट पार्टीको हिजो सम्पन्न एउटा कार्यक्रममा नगरपालिकाका मेयर रबि केसी तथा तत्कालीन वडा अध्यक्षसहितको टोलीले नगरपालिकाका सरकारी सवारी प्रयोग गरेको भन्दै नगरपालिकामै रहेका एक कर्मचारीले जानकारी दिएका छन्।
यसबाहेक, एक पूर्व वडा अध्यक्षले आफ्नो निजी सवारी साधन नगरपालिकामा ‘ पार्किङ” गराई, त्यसपछि सरकारी गाडीमार्फत पार्टीको प्रचारमा गएको आरोप समेत लागेको छ।
स्थानीयहरूका अनुसार, सरकारी साधनलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गरिएको भन्दै दुवै दलबीच विवाद थप चर्किंदै गएको छ। नगरपालिकाबाट भने यस विषयमा आधिकारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।







