रुकुम पश्चिम, आठबिसकोट नगरपालिका–१०, कोट गाउँ —
पहाडको काखमा फैलिएको यो रमणीय गाउँ हेर्दा घरहरू बाक्लै देखिन्छन्, तर ती घरहरूमा बसोबास गर्ने मान्छेहरू भने दिनप्रतिदिन घट्दै गएका छन्। कोट गाउँ अहिले घरले भरिएको तर मानिसले रित्तिएको गाउँ बन्दै गएको छ।
अहिले गाउँका धेरै परिवारहरू शिक्षाको खोजी, रोजगारको आवश्यकता र सहरमुखी सपना बोकेर काठमाडौँ, दाङ, बुटवल हुँदै वैदेशिक रोजगारीतिर पलायन भइसकेका छन्। खेतबारी बाँझो छन्, आँगनहरू सुनसान छन्, र कतिपय घरहरूमा महिनौँसम्म चुलो पनि बल्दैन।
स्थानीय वृद्ध गोपाल विक भन्छन्, “गाउँमा पानी छैन, अस्पताल छैन, रोजगार छैन, अनि युवा के गरुन् र बस्न?”
कतिपय घरहरू त ताला लागेर महिनौँदेखि खुला पनि भएका छैनन्। सरकारको नजरमा यस्ता गाउँहरू अझै “विकासको पर्खाइमा” मात्र छन्।
यता कोट गाउँका बाँकी बासिन्दा भने भन्छन् —
“अब राजनीति गर्ने हो भने सहर हैन, यस्तै गाउँमै आएर गर्नुपर्छ। यो गाउँका घर त अझै बाँकी छन्, तर आत्मा जस्तो मान्छेहरू हराउँदै गएका छन्।”
अब स्थानीय तहबाट सिंचाइ, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत विकासमा ध्यान दिइएन भने, केही वर्षमै यो गाउँ ‘फोटोमा मात्र बाँकी’ रहने जोखिम देखिँदैछ।







